हिन्दूराष्ट्रको लागि सत्–मार्गले ज्ञापनपत्र बुझायो, झनझन चर्कदो छ हिन्दू आन्दोलन

image

हेटौडा, मकवानपुर १९ साउन । सत्–मार्ग अभियान नेपाललगायतका विभिन्न संघसंस्थाले बन्ने संवधिानमा हिन्दूराष्ट्र उल्लेख गर्नुपर्ने माग राख्दै आइतवार मकवानपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाएका छन् । सत्–मार्ग अभियानका राष्ट्रिय प्रमुख पं. नवराज धितालको अगुवाईमा गएको एक ऱ्यालीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियामार्फत नेपाल सरकारलाई सो ज्ञापन–पत्र बुझाएको थियो । अभियानका केन्द्रीय सदस्य हरिबंश भेट्वालका अनुसार ज्ञापन–पत्र बुझाउन मकवानपुरमा कार्यरत दुईदर्जनभन्दा बढी संघसंस्थाले सत्मार्ग अभियानसाग सहकार्य गरेका थिए ।

झनझन चर्कदो छ हिन्दू आन्दोलन
काठमाडौं । साउन १८ । केही दिन यता काठमाडौंका सडकहरू हिन्दूराष्ट्रको माग गर्दै निस्कने ऱ्याली तथा जुलुशले भरिन थालेका छन् । कतै खुमबहादुर खड्का, क्षेत्री समाजलगायतकाको नेतृत्त्वमा त कतै कमलनयन आचार्यको नेतृत्त्वमा र कतै राप्रपा नेपालको त कतै विभिन्न धार्मिक संघसंस्थाको आयोजनामा हुने ऱ्याली तथा जुलुसले काठमाडौंका सडकहरू भरिन थालेका छन् । सोमवार सनातन हिन्दूराष्ट्र संयुक्त संघर्ष समिति, संयुक्त सनातन मोर्चा, सत्–मार्ग अभियान नेपाल, खसक्षेत्री समाज लगायतका संघसंस्थाले संयुक्त रूपमा माइतिघर मण्डलादेखि संविधानसभा नजिकसम्म जुलुस प्रदर्शन गरेका थिए । जसलाई नेपाली काग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले नेतृत्त्व गरेका थिए । माइतिघर मण्डलामा जम्मा भएको जनसभालाई खड्का सहित संयुक्त सनातन मोर्चाका केन्द्रीय संयोजक डा. मिठाराम विश्वकर्मालगायतका नेता तथा कार्यकर्ताले सम्बोधन पनि गरेका थिए ।

सो प्रदर्शनमा राष्ट्रिय धर्म जागरण अभियानका केन्द्रीय संयोजक सन्त नेता शङ्करप्रसाद पाण्डे, शब्द चिन्तन संरक्षण मण्डलका संरक्षक सदस्य दीपक सुवेदी, सत्मार्ग अभियान नेपालका संगठन महामन्त्री खेमनाथ आचार्य, विश्व हिन्दू परिषद्का का.अध्यक्ष सुशिलचन्द्र अधिकारी लगायतका धार्मिक अभियन्ताहरूको सहभागिता थियो । क्षेत्रीसमाजका तर्फबाट ढाल र तरवारको सांकेतिक प्रदर्शन पनि गरेका थिए भने बाजागाजासहितको सो जुलुसमा हिन्दूराष्ट्रको पक्षमा चर्का नाराहरू लगाइएको थियो ।
देशैभरी हिन्दूआन्दोलन चर्कदै यसै गरी देशैभरी हिन्दू आन्दोलन चर्कदै गएको समाचारहरू प्राप्त भएका छन् ।

काभ्रेको पनौति, बाकेको नेपालगञ्ज, बर्दियाको गुलरिया, कपिलवस्तु, गुल्मी, बाग्लुङ्ग, पर्वतको कुस्मा, स्याङ्जा, कास्कीको पोखरा, गोरखा, धादिङ्ग, नुवाकोट, चितवन, नवलपरासी, रूपन्देही, सुर्खेत, दैलेख, दाङ्ग, प्यूठान, सल्यान लगायतका जिल्लाहरूमा सनातन हिन्दूराष्ट्रको माग राख्दै दिनानुदिन आन्दोलनका गतिविधि बढ्दै गएका छन् । जिल्ला–जिल्लाबाट प्राप्त समाचार अनुसार ती जिल्लाहरूमा कार्यरत धार्मिक संघसंस्थाहरूको मोर्चाबन्दि गरी आन्दोलनका कार्यक्रमहरू सम्पादन हुने गरेका छन् । सुनसरीको ईटहरीमा हप्तादिन अघिदेखि चलिरहेको आन्दोलनमा जनजाति आदिवासी, मुस्लिम, किरात समुदायबाट पनि समर्थन र सहभागिता थपिएको र आन्दोलनको स्वरूप झनझन बढ्दै गएको समाचारस्रोतले बताएको छ ।

यसैक्रममा सुर्खेतको विरेन्द्रनगरमा यही साउन २० गते बालसन्त मोहनशरणको अगुवाईमा र काठमाडौंमा २२ गते कमलनयन आचार्यको अगुवाईमा विशाल धर्मसभा हुन गईरहेको सम्बद्ध स्रोतले जनाएको छ । यतिबेला प्राय सबै धार्मिक संघसंस्थाहरू हिन्दूराष्ट्र कायम गर्ने मागसहित सडकमा उत्रिरहेका पाइन्छन् ।

image

तराई news