प्रहरीबाट मारिएका राउतका परिवारलाई एक लाख

image

राजबिराज : सीमाङ्कनविरुद्ध भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका राजीव भनिने राजेन्द्रकुमार राउतको परिवारलाई अमेरिकामा बस्दै आएका सप्तरीका एक युवकले आइतबार एक लाख रुपैया नगद सहयोग प्रदान गरेका छन् ।शम्भुनाथ नगरपालिका ६ घर भइ अमेरिकामा बस्दै आएका सत्येन्द्रकुमार साहले राउतको १३ औं दिनको तिथीमा उक्त सहयोग रकम प्रदान गरेका हुन् ।साहका बुवा राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीका अध्यक्ष तथा तेली कल्याण समाज नेपालका केन्द्रिय सदस्य उम्देश्वरप्रसाद साहले मृतककी श्रीमति निलमदेवी राउतलाई उनकै घरमा सो रकम हस्तान्तरण गरेका थिए ।सीमाङ्कनविरुद्ध मधेसी मोर्चा सप्तरीले गत भदौ १ गते गरेको प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट भारदह १ का २८ वर्षीय राउतको मृत्यु भएको थियो ।मृृतक राउतका बुवा, आमासहित श्रीमति, एक वर्ष चार महिनाका छोरा र तीन महिनाकी छोरी छन् ।भारदह–१ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा करिब दुई विगहा जमिनमा केरा खेती गरी जीविकोपार्जन गरिरहेका राउतको मृत्युपछि परिवारमा खर्चको समस्या भएको छ ।मृतकको घरको तत्कालिन खर्च तथा बालबच्चाको पालनपोषणमा सहयोग पुर्याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराएको साहले बताए ।