भारतले ब्रिटिसकालदेखि नै नेपालमा निरन्तर हस्तक्षेप गर्दै आएको छ । ब्रिटिस भारतले विशेष गरी सन् १८१६ मा भएको सुगौली सन्धियता नेपालमा हस्तक्षेप गर्दै आइरहेको छ । त्यसैलाई स्वतन्त्र भारतले पनि लागू गर्दै आएको छ ।
यसबीचमा नेपालमा राणाकाल जान्छ, प्रजातन्त्र आउँछ, पञ्चायत आउँछ, फेरि प्रजातन्त्र आउँछ, लोकतन्त्र आउँछ, गणतन्त्र आउँछ, संविधानसभाबाट संविधान आउँछ तर नेपालको राष्ट्रिय स्वाधीनता आउँदैन । सार्वभौम राष्ट्र नेपाल आउँदैन । त्यस्तो सोच बोक्ने साँचो नेपाली विद्वान् पनि आउँदैन । विद्वानको खोपडी परिवर्तन हुँदैन ।
ठूलठूला कर्पोरेट मिडिया हाउसदेखि सामान्यजनतासम्मले भन्ने गर्छन्, ‘हामीले भारतविरोधी गतिविधि गर्नु हुँदैन । भारत थिएन भने हाम्रो विजोग हुन्छ ।’ त्यस्तै, बनारसी मानसिकताबाट प्रशिक्षित एकात्मकतावादी विद्वान्हरू भट्टीपसल, चियापसल, चोकमा गफ गर्न थाल्छन्, ‘भारतविरोधी भएर हाम्रो काम छैन ।’
ज्ञानको कमीले हुनसक्छ, सबै नेपालीले प्रयोग गरिरहेको भारतविरोधी शब्द गल्ती हो जस्तो लाग्छ मलाई । भारतले नेपालमाथि गरिराखेको सम्पूर्ण व्यवहार अविरल हस्तक्षेपको शृङ्खला हो । भारतले नेपाललाई बेलाबेला हस्तक्षेपको नमुना प्रस्टसँग देखाउने काम गरिराखेको छ ।
जबजब भारतीय हस्तक्षेपको शृङ्खला हुन्छ, तबतब सञ्चारमाध्यममा ‘भारतविरोधी’ शब्द भरमार सुन्न पढ्न पाइन्छ । भारतले गरेको हस्तक्षेपको विरोध गरियो भने ‘भारतविरोधी कुरा गर्नु हुँदैन’ भन्ने अर्ती उपदेश पाउँछौं ।
करिब ६५ वर्षअघि स्वतन्त्र भएको भारतले नेपालका सबैजसो क्षेत्रमा हस्तक्षेप गरिरहेको छ । त्यस्तो हस्तक्षेपको विरोध गर्दा नेपालका विद्वानहरूले सही कुरालाई सही, गलत कुरालाई गल्ती भन्नुपर्ने हैन र ? त्यस्तो हस्तक्षेपबाट फुत्केर स्वाधीन समृद्ध नेपालको बाटोमा लाग्न हरेक नेपाली मनले भारतीय हस्तक्षेपको विरोध गर्ने आँट गर्नुपर्ने हैन र ?
वास्तवमा भारतले स्वाधीन नेपालमाथि गरेको हस्तक्षेपचाहिँ नेपालविरोधी हो । जोजो नेपालका नेताहरूले गरेको राष्ट्रघाती असमान सन्धि सम्झौता खारेज गरेर नेपाललाई स्वाधीन बनाउन चाहँदैनन्, तिनीहरू नेपाली नै भए पनि नेपालविरोधी हुन् । जबजब भारतीय हस्तक्षेपको शृङ्खला हुन्छ, तबतब सञ्चारमाध्यममा ‘भारतविरोधी’ शब्द भरमार सुन्न पढ्न पाइन्छ । भारतले गरेको हस्तक्षेपको विरोध गरियो भने ‘भारतविरोधी कुरा गर्नु हुँदैन’ भन्ने अर्ती उपदेश पाउँछौं ।
भारतले ‘नेपाललाई गरिब र परनिर्भर बनाई राख’ भन्ने नीति लिएको पाइन्छ । यही नीतिका कारण संविधानसभाबाट संविधान बन्दा समेत नेपाल सार्वभौम राष्ट्र बन्न सकेन । कतिसम्म भने आदिवासी जनजाति र मधेसीले पहिचान र अधिकार पाएनन् । यसैलाई निहुँ बनाएर भारतले नाकाबन्दी लगायो ।
भारतलाई जलस्रोत सुम्पने नीति र व्यवहारका कारण विकासमा अगाडि बढ्न सकेन । राजधानीका जनतालाई जलस्रोतको धनी देश नेपालले खानेपानी समेत दिन सकेको छैन । करिब ७० वर्षमा राजधानीवासीलाई खानेपानी दिन नसक्नेहरु कसरी राष्ट्रवादी हुन्छन् ?
के हामीले अब नेपाली भारतीय हस्तक्षेपको एकजुट भई विरोध गर्दै अबदेखि भारतविरोधी भन्न छाड्छौं त ? हरतरहले भारतीय हस्तक्षेपको भण्डाफोर गर्दै अब आत्मनिर्भरतातिर अगाडि बढ्ने प्रण गर्छौं त ?
हामीले त्यस्ता पार्टीलाई पटकपटक ठूलो पार्टी बनायौं, जसले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेनन् । एउटा ठूलो लोकतन्त्रवादी भनिने पार्टीले त माओवादी सरकार हुँदा उसले नै लोडसेडिङ गरेको भनी आरोप लगाउनसम्म भ्यायो । त्यति मात्रै हैन, राजधानीका शिक्षित विद्यार्थीहरूले त्यस्तै आरोप लगाएर गरेको मैनबत्ती जुलुस मूकदर्शक भई हेर्न बाध्य भयौ हामी । के नेपालका नदीहरु भारतीय मालिकलाई दिन नेतृत्व गर्ने तिनै ठूला दलहरु हैनन् ?
जलस्रोतको धनी देश नेपालमा प्रचुर मात्रामा विद्युत उत्पादन नगरी लोडसेडिङ भइरहनु कस्तो विडम्बना ? नेपालको यही विडम्बनालाई परिवर्तन गर्न सबै नेपाली जागरुक नहुँदासम्म जुनसुकै तन्त्र ल्याइए पनि नेपालको परनिर्भतामा सुधार आउने सम्भावना छैन ।
नेपाललाई आत्मनिर्भर बनाउन खोज्ने र भारतसँग भएका सबै असमान सन्धि सम्झौतालाई खारेज गरी नयाँ सन्धि सम्झौता गर्न खोज्ने राजनीतिलाई प्रोत्साहित गरियो भने मात्र नेपाललाई स्वाधीन बनाउँदै समृद्ध बनाउन सकिन्छ । देश र जनतालाई घात गर्ने पार्टीहरूलाई मलजल गरिरहेसम्म नेपाल बन्दैन, न त सार्वभौम नै हुन्छ ।
के हामीले अब नेपाली भारतीय हस्तक्षेपको एकजुट भई विरोध गर्दै अबदेखि भारतविरोधी भन्न छाड्छौं त ? हरतरहले भारतीय हस्तक्षेपको भण्डाफोर गर्दै अब आत्मनिर्भरतातिर अगाडि बढ्ने प्रण गर्छौं त ? हामी आफै पनि देश र जनतालाई केन्द्रमा राखेर क्रियाशील हुने चेतनशील नागरिक नबनेसम्म खराब छिमेकीले हेपाहा रवैया कायम राखिरहने कुरा सबैले मनन गर्नैपर्छ ।
ghisingram@gmail.com
हाम्रो समाज वाट…….
You must be logged in to post a comment.