प्रहरीले कुटेपछि सप्तरीमा भिडन्त

image

सप्तरी, २४ असोज । जिल्ला सुरक्षा समिति, सप्तरीले निषेधाज्ञा हटाएको एक दिन नबित्दै सप्तरीको कञ्चनपुर नगरपालिका–५ मा रहेको राजमार्गमा आइतबार मर्निङवाकमा निस्केका एक युवकलाई प्रहरी निर्घात कुटपिट गरेको छ ।कञ्चनपुर नगरपालिका–५ बस्ने बालकिसुन मण्डलका १६ वर्षीय छोरा टुनानन्द मण्डललाई प्रहरीले कुटपिट गरेका हुन् । विहान ५ बजे बस तथा मालबाहक ट्रकहरुलाई स्कर्टिङ गर्ने प्रहरीको कुटाइबाट मण्डलको हातमा गहिरो घाउ भएको छ ।‘राजमार्ग छेऊमै घर छ, गएको साँझमा दगाग्रस्त क्षेत्र हटाएको समाचार सुनेको थिएँ । र, मर्निङ वाकका लागि घरबाट निस्कँदा प्रहरीले लट्ठीले निर्घात कुटपिट गर्नुका साथै नोकिया मोबाइल एक थान समेत खोसेको छ ।’ पीडित मण्डलले भने, ‘मलाई मात्रै होइन, सडकमा वाकमा निस्केका करिब दर्जनभन्दा बढीलाई कुटपिट गरेका छन् ।’‘राजमार्ग छेऊमै घर छ, गएको साँझमा दगाग्रस्त क्षेत्र हटाएको समाचार सुनेको थिएँ । र, मर्निङ वाकका लागि घरबाट निस्कँदा प्रहरीले लट्ठीले निर्घात कुटपिट गर्नुका साथै नोकिया मोबाइल एक थान समेत खोसेको छ ।’सडकमा सर्वसाधरण कुटिएपछि आज विहानदेखि कञ्चनपुर नगरपालिकास्थित कञ्चनपुर बेरीयर तनावग्रस्त बनेको छ । प्रहरी र प्रर्दशनकारीबीच दोहोरो झडपसमेत भएको छ । प्रदर्शनकारीले बेरियरस्थित नेपाल बैंकमा ढुंगामुढासमेत गरेका छन् ।दुई दिनदेखि स्थानीय बजार खुल्न थालेको स्थितिमा आज फेरि पसल, कलकारखाना समेत पूर्णरुपमा बन्द गरिएको छ । यसै क्रममा बेरियर चौकमा इलाका प्रहरी कार्यालय, कञ्चनपुरअगाडि मधेशी मोर्चासँग सम्बद्ध आन्दोलनकारीले प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले कुटपिट गर्ने प्रहरी पहिचान गरी कारबाही गर्ने बताए ।यसैबीच सप्तरीका भारदह, कञ्चनपुर, रुपनी, कठौना, कल्याणपुर, कदमाहा र राजविराजमा ५८औं दिन पनि आन्दोलन जारी रहेको छ ।

केपी ओली : झापा विद्रोहदेखि प्रधानमन्त्रीसम्मको यात्रा

image

प्रकाश सिलवालझापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल भएका छन्।छैटौँ वाम प्रधानमन्त्रीमुलुकको दोस्रो ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओलीले प्रमुख दलको सहकार्यमा नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गर्नु भएको थियो । उहाँ पहिलो ठूलो दल नेपाली काँग्रेसबाहेक अन्य दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएको छ । मुलुकको ३८औँ प्रधानमन्त्री उहाँ छैटौँ वामपन्थी प्रधानमन्त्री पनि हुनुभएको छ । पहिलो वाम प्रधानमन्त्री पनि एमालेकै तत्कालीन अध्यक्ष मनमोहन अधिकारी हुनुभएको थियो ।राष्ट्रिय एकतामा अविचलितवाक्पटुतायुक्त र लामो समय जेलनेल भोगेका नेता ओली पिता मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको कोखबाट इवा–२, तेह्रथुममा २००८ साल फागुन ११ (सन् १९५२-०२-२३) मा जन्मनुभएको थियो । पछि रणामती–६, झापामा बसाइँ सर्नुभएका उहाँ त्यहीँबाट सक्रियराजनीतिमा होमिनुभएको हो । झापा विद्रोहकालीन एक मात्र जीवित नेता ओलीले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आउनुभएको छ ।यसअघि मुलुकको उपप्रधानमन्त्री तथा गृहमन्त्री र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका उहाँ राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा पनि निडर तथा खरो देखिनुभएको छ । पछिल्लो समयमा पार्टीको आन्तरिक एकता सुदृढ बनाउँदै तेस्रो र चौथोठूलो दल एमाओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतको समर्थनमा उहाँ कार्यकारी प्रमुख बन्नुभएको हो ।पार्टी र संसद्का जिम्मेवारीविसं २०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको अध्यक्षमा माधवकुमार नेपालसँगको प्रतिस्पर्धामा अध्यक्ष हुनुभएका उहाँ २०७० माघ २१ मा भएको पार्टीको संसदीय दलको निर्वाचनमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरी दलको नेता हुनुभएको थियो ।संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नं ७ बाट निर्वाचित उहाँ विसं २०४८ र २०५१ मा सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो भने २०५१ मङ्सिर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्री हुनुहुन्थ्यो । विसं २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभामा निर्वाचित भई पार्टीको संसदीय दलको उपनेता हुनुभएका ओली २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत बन्नुभयो । विसं २०७० मङ्सिरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित हुनुभएका उहाँ आफ्नो अडानमा स्पष्ट मानिनुहुन्छ ।हतियारबद्ध सङ्घर्षदेखि शान्तिपूर्ण रुपान्तरणविसं २०२७ को झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारबद्ध सङ्घर्ष वा शान्तिपूर्ण सङ्घर्ष गर्ने भन्ने बहसमा उहाँले शान्तिपूर्ण आन्दोलनको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखे पनि पार्टीको निर्णय मानी सशस्त्र सङ्घर्षमा समेत होमिनुभयो । अन्ततः विसं २०४६ को वाम प्रजातान्त्रिक सहकार्यको शान्तिपूर्ण आन्दोलनबाटै प्रजातन्त्रको पुनःस्थापना भयो, त्यसपछि पार्टीले पनि शान्तिपूर्ण रुपान्तरणको बाटो लियो । अध्यक्ष ओलीले तत्कालीन महासचिव मदन भण्डारीबाट प्रस्तुत तथा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सिद्धान्त र त्यसको कार्यक्रम निर्माणका महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।विसं २०२५ देखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई त्यसको नेतृत्व गर्नुभएका उहाँले २०२६ सालमा सङ्गठित सदस्यता पाउनुभयो भने विसं २०२३ मा माक्र्सवादी अध्ययन दलमा सङ्गठित हुनुभयो । विसं२०२६ मै तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उपसचिवको जिम्मेवारीमा पुग्नुभएका उहाँ २०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोसी प्रान्तीय कमिटीसँगको एकीकरण अभियानका अगुवा बन्नुभयो ।विसं २०४४ पुस २ गतेदेखि धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले)को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी बहन गर्नुभएका ओली २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारीमा पुग्नुभयो । विसं २०४७ जेठ १ गतेतत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष बनेका ओली २०४९ देखि २०७१ असारसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य रही पार्टीको शीर्ष र लोकप्रिय नेताको स्थानमा रहनुभयो ।कारागार जीवनविसं २०२८ वैशाखमा तत्कालीन पूर्वकोसी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भएपछि २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा ओली अघि सर्नुभयो । पञ्चायतविरोधी आन्दोलन र प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उहाँ विभिन्न पटक जेल पर्नुभयो । पहिलो पटक उहाँ २०२७ फागुन १६ गते झापाबाट गिरफ्तारीमा पर्नुभयो रत्यसबीचमा पटक पटक गरी १० पटकभन्दा बढी गिरफ्तारीमा पर्नुभयो । उहाँको २०३० असोज २३ गतेदेखि लामो जेल जीवन प्रारम्भ भयो । रौतहट गौर जेल, गौर थाना हुँदै वीरगन्ज थाना र २०३० मङ्सिर ८ गते उहाँलाई भद्रगोल जेल काठमाडौँमा चलान गरियो । पछि केन्द्रीय कारागार, नख्खु जेलमा बस्दै गर्दा २०३६ जेठमा जेलमुक्त हुनुभयो । पछि फेरि २०३७ म गिरफ्तार भई २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा हुनुभयो । तत्कालीन राजा ज्ञानेन्द्रले २०५८ माघ १९ को कदमपछि उहाँले नजरबन्द पनि भोग्नुभयो ।अध्ययनराजनीतिक आन्दोलन र जेल जीवनका कारण औपचारिक अध्ययनमा पछाडि देखिए पनि ओलीको स्वाध्ययनले राजनीतिक जीवनलाई कमजोर बनाएको छैन । औपचारिक शैक्षिक योग्यतामा सामान्य अध्ययन गरेका ओली राजनीति शास्त्रमा मानार्थ विद्यावारिधि प्राप्त हुनुहुन्छ । हाल अनन्तलिङ्गेश्वर–२, बालकोट भक्तपुरमा बस्दै आउनुभएका उहाँ मदन भण्डारी मेमोरियल फाउन्डेसनका संरक्षक हुनुहुन्छ । उहाँले विश्वको डेढ दर्जनभन्दा बढी मुलुकको भ्रमण गर्नुभएको छ । रासस

महतोले भने–लगौंटी स्वीकारिदैन, सिङ्गो धोती चाहियो

image

किरण कर्ण२४ असोज, जनकपुरधाम । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आफूहरु स्वायत्त मधेश प्रदेश र सिमांकनको लागिआन्दोलित भएको बताए । अध्यक्ष महतोले केपि ओलिप्रति इंगित गर्दै सिङ्गो धोतीलाई विभिन्न टुक्रामा विभाजित गरी प्रदेश दिएको हुनाले त्यसलाई आफूहरुले अस्वीकार गरेको स्पष्ट गरे ।केपी ओलीले धोती प्रदेशको संज्ञा दिंदा पनि आफूहरु सो नामलाई नामाकरण गर्न तयार रहेको तर धोतीलाई विभिन्न टुक्रामा विभाजित गरी प्रदेश दिएको हुनाले च्यातेर बनाईएको लंगौटी स्वीकार गर्न नसकिने अध्यक्ष महतोको भनाई छ । उनले मधेशले पहाड नमागेका भन्दै भने मधेश प्रदेशको भु–भाग झापा, सुनसरी र मोरङ्गसहित चाहिएको हुनाले थरुहट प्रदेशमा चितवनदेखि नवपरासी–कैलाली, कञ्चनपुरसम्म दावा गरे । खसवादी सरकार मधेश–थरुहट प्रदेशको अधिकार खोसी नाम मात्रको प्रदेश दिने षड्यन्त्रमा लागेको उनले आरोप लगाए ।जनकपुरमा संयूक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाद्वारा आयोजित शहिद श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले गिरिजासंग विगतमा भएको ८ र २२ बँुदे सहमती कार्यान्वयन गर्नका लागि वर्तमान सरकारसंग जोडदार आग्रह गरे ।त्यस्तै नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रोशन जनकपुरीले भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधीलाई बञ्चरोको बेँतको संज्ञा दिदैँ मधेशमा जारी अधिकार प्राप्तिको आन्दोलनलाई दवाउन लागि परेको बताए । उनले भने मधेशी विरुद्ध खसवादी दलले मधेशीलाई नै प्रयोग गरी बञ्चरोमा जसरीकाठको विडो लगाएर रुख ढाल्ने काम गर्छ त्यसैगरी नै खसवादीहरुले आफ्ना दास मानसिकताका कार्यकर्तालाई प्रयोग गरेर मधेश र मधेशीको आन्दोलनलाई निस्तेज पार्न षड्यन्त्र गरिरहेको आरोप लगाए ।मधेश आन्दोलन देशको हरेक कुनाकाप्चामा रहेका उत्पीडित, अपहेलित, पिछडिएका वर्ग, शोषित तथा दमितहरुको मुक्तिको आन्दोलनको प्रतिनिधित्व गरिरहेको बताए । उनले राज्यले सुरुदेखि नै मधेश मुक्ति आन्दोलनलाई साम्प्रदायिक र राष्ट्रद्रोहीको संज्ञा दिदैँ आईरहेको र आन्दोलनलाई भाँड्न कुनै पनि कसर नराखेको बताए ।उनले अहिले पनि मधेशी दलहरुसंग वार्ताको नाममा राज्य नौटंकी गरिरहेको भन्दै मधेशी मोर्चाका नेताहहरुलाई कुनैपनि षड्यन्त्रर लोभमा नपर्न सचेत गराए । उनले मधेश आन्दोलनमा शहिदहरुले दिएको बलिदानीको स्मरण गर्दै भने मधेश आन्दोलन अधिकार प्राप्ति नहुञ्जेलसम्म जारी रहने समेत बताए । उनले स्वायत्त मधेश प्रदेश, आत्मनिर्णयको अधिकार, पूर्ण समानुपातिक, जनसंख्याको आधारमानिर्वाचन प्रणाली र राज्य पुनःसंरचना सहित राज्यको हरेक निकाय तथा अंगमा मधेशीको समावेशी सहभागिता सहितका माग पूरा नभएसम्म कुनै पनि किसिमको षड्यन्त्र सह्य नहुने बताए ।

गौरमा ओलीको पुतला दहन

image

काठमाडौ असोज २३ गते । संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको नेतृत्वमा अहिले रौतहट सदरमुकाम गौरमा मधेश बिरोधी सरकारका प्रधानमंत्री केपी ओली र मधेश बिरोधी सरकारका गठबन्धनको बिरोधमा पुतला दहन गरियो मोर्चा का नेता बाबू लाल साह , योगेन्द्र यादव,अरुण सिंह, कमलेश सिंह, शंकर चौधरी,रामाकान्त चौरसिया,रामप्रवेश दास,शैलेन्द्र सिंह, कमलेश सहनी ,नन्द किशोर साह, बिनोद कुशवाहा लगायतका नेताहरुको संयुक्त नेतृत्व मा कार्यक्रम सम्पन्न भएको छ ।

अब अर्को चरणको आन्दोलन : वैद्य

काठमाडौं, असोज २४ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले २०५२ सालबाट शुरुभएको आन्दोलनले आंशिक सफलता प्राप्त गरेको भन्दै अब अर्को चरणको आन्दोलन थाल्ने बताएका छन् ।केन्द्रीय समिति बैठकले गरेको निर्णय सार्वजनिक गर्न आइतबार ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वैद्यले धर्म निरपेक्षता, गणतन्त्र तथा संघीयतालगायतकाउपलब्धी हासिल भए पनि यो संविधानलाई जनसंविधान भन्न नमिल्ने बताए ।क्रान्ति गरेर नयाँ राज्य सत्ता प्राप्त नहुञ्जेल आफू प्रधानमन्त्री तथा राष्ट्रपति केही नबन्ने उनको भनाइ थियो ।प्रमुख दलका शीर्ष नेताहरु विदेशी शक्तिहरुबाट परिचालित भएको भन्दै वैद्यले उनीहरुहरुकै गतिविधिका कारण मुलुक नाकाबन्दीको मारमा परेको तर्क गरे ।

मधेस आन्दोलनप्रति कुर्मी समाज पर्साको एक्यबद्धता

image

बीरगंज, २४ असोज जारी मधेस आन्दोलनको आज ५८ औं दिन र नाका बन्दको १७ औ दिन कुर्मी सशक्तिकरण मञ्च पर्साले बीरगंजमाविशाल रैली निकालेको थियो ।आन्दोलनको समर्थन एवं एक्यबद्धताका लागि गाँउ देखि शहरबाट मधेसी एकता जिन्दाबाद, मधेसमा हत्या हिंसा बन्द गर, मधेसभएको सम्झौता लागु गर, मधेस विरोधी सविधान खारिज गर, जय मधेस लगायतका नारा लगाउदै बीरगंजमा आई भब्य रैलीमा परिणत भएको थियो ।मञ्च पर्साका अध्यक्ष संतोष पटेलको नेतृत्वमा निकालिएको रैलीमा कुर्मी समाजका अगुवाहरु अधिवक्ता सुरेन्द्र कुर्मी,शिवशंकर कुर्मी, अधिवक्ता रामनारायण कुर्मी, जितेन्द्र कुर्मी, जोगिन्द्र प्रसाद कुर्मी, ब्रह्मदेव प्रसाद कुर्मी, लालबाबु पटेल, विरेन्द्र पटेल, पारस प्रसाद कुमी, जगदिश पटेल, चन्द्रशेखर प्रसाद कुर्मी, कुर्मी प्रमानन्द चौधरी, जय प्रकाश सिंह, दिपक कुर्मी, सरोज पटेल, संजय पटेल, मुन्ना पटेल, अजय पटेल, श्याम पटेल, जितेन्द्र कुर्मी, सुरेश प्रसाद कुर्मी, आर.के पटेल, प्रदिप पटेल लगायतकाले सक्रिय भुमिका निर्वाह गरेका थिए ।मधेस आन्दोलनको समर्थन एवं एक्यबद्धताका लागि बीरगंज घण्टाघरबाट निकालिएको कुर्मी समाजको रैलीमा हजारौ हजार सहभागिभएका थिए । रैली नेपाल भारत मित्तेरी पुलमा पुग्दा मधेसी मोर्चाका नेताहरु जितेन्द्र सोनल, राजेशमान सिंह, शिव पटेल, प्रेम बाबु पटेल, प्रेमचन्द्र कुशवाहा, नेजामुदिन समानी, इम्दाद गद्दि, केदार साह, पप्पु पटेल महिला नेतृ पिंकी यादव लगायतकाले मोर्चा अगुवा नेता एवं कार्यकर्ताहरुले तालि बजाई रैलीलाई सम्मान गर्नुको साथै बधाई एवं धन्यबाद ज्ञापन गरेका थिए । सो रैलीमा कुर्मी सशक्तिकरण मञ्च पर्साका उपाध्यक्षद्धय विशेषवर पटेल, वृजकिशोर पटेल, सहसचिव खेमराज पटेल, कोषाध्यक्ष पन्नालाल पटेल, सदस्यहरु धमेन्द्र पटेल, राजेश पटेल, विरेन्द्र पटेल, दशरथ पटेल, भैया राम पटेल, अमरेन्द्र पटेल, गुडडु पटेल, श्रीराम पटेल, बीरगंज नगर अध्यक्ष कुन्दन पटेल, सचिव रोशन पटेल, सदस्य सुशिल पटेल, पोखरिया नगर अध्यक्ष प्रमानन्द प्रसाद कुर्मी, सदस्य पन्नालाल पटेल लगायतको सक्रिय सहभागिता रहेको थियो ।कुर्मी समाजको गाविस अस्वारी, लंगडी, हरिहरपुर, गुलरिया, पकहामैनपुर, भिखमपुर, धोबिनी, जगरनाथपुर बीरगज नगरपालिकाकोछपकैंया, नगवा, भवानीपुर, पिपरा, लक्ष्मणवा, रामगढवा, अलौं, श्रीर्सिया, विश्रामपुर र पोखरिया नगरपालिका लगायत ठाँउठाँउबाट आएको जुलुश घण्टाघरमा आएर विशाल रैलीमा परिणत भएको थियो । सो रैलीद्धारा नाकामा बसेका आन्दोलनकारीहरुका लागि खाद्यान्न समाग्री वितरण गरेको थियो ।

वीरगञ्जमा गच्छदारको पुतला जलाइयो

image

वीरगञ्ज, २४ असोज, मधेसवादी मोर्चाका युवा कार्यकर्ताले वीरगञ्जमा आइतबार मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको पुत्ला जलाएका छन् । प्रधानमन्त्री निर्वाचनमा मधेसविरोधी छवि भएका एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेको भन्दै मोर्चाका आक्रोशित युवाहरुले  गच्छदारको पुत्ला जलाएका हुन् । मधेस आन्दोलन उचाइमा पुगेका बेला मधेस अधिकारका भएको आन्दोलन दबाउन मुख्य भूमिका खेलेका ओलीलाई समर्थन गरेर गच्छदारले मधेस र मधेसीलाई धोका दिएको आरोप युवाहरुले लगाएका छन् । ओलीको निर्देशनमा गृहमन्त्री बामदेव गौतमले मधेसी आन्दोलनकारीलाई गोली ठोक्न आदेश दिएको उनिहरुले बताएका छन् । आइतबार भएको प्रधानमन्त्रीको निर्वाचनमा गच्छदारको पार्टीले ओलीलाई सघाएको थियो । ओलीलाई सघाएर गच्छदारले मधेसीको भावनामाथि गद्दारी गरेको आरोप आक्रोशित युवाहरुले लगाएका छन् ।

केपी ओली नेपालको ३८ औं प्रधानमन्त्री निर्वाचित

image

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओली नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। आइतबार व्यवस्थापिका संसदमाभएको प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई पराजितगर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। ओलीले ३३८मत प्राप्त गरे भने कोइरालाले २४९मत पाए।ओली नेपालको संविधान–२०७२ को धारा १९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा निर्वाचित भएका हुन्। ओलीलाई प्रधानमन्त्री बनाउन एमाआवादी, राप्रपा नेपाल, राप्रपा, नेकपा मालेलगायतका दलले समर्थन गरेका थिए। यसअघि प्रमुख दलबीच १६ बुँदे सहमति हुँदा संविधान जारी भएपछि एमाले नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भएको नेताहरुले बताउँदै आएका थिए। तर कांग्रेसले भने भद्र सहमति नभएको दाबी गर्दै प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति सुशील कोइरालाले उम्मेदवारी दिएका थिए। ओली प्रधानमन्त्रीमा निर्वाचित भएसँगै नेपालमा ६ जना कम्युनिष्ट प्रधानमन्त्री बनेको इतिहास बनेको छ।

एमाले र एमाओवादीसँग गच्छदारले गरे यस्तो सम्झौता (सम्झौतापत्रसहित)

image

काठमाडौं, २४ असोज ।  प्रधानमन्त्री निर्वाचनको अन्तिम समयमा आएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेको छ । यसका लागि प्रमुख तीन दल एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकबीच आठ बुँदे सहमति भएको छ । सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले हस्ताक्षर गरेका छन् । सहमतिमा अहिले भइरहेको मधेस आन्दोलनको राजनीतिक समाधान खोज्ने र प्रदेशहरुको सीमांकनमा राजनीतिक सहमति गरेर आवश्यकता अनुसार संविधान संशोधन गर्ने उल्लेख छ ।सहमति पत्रनेपाल कम्युनिष्ट पार्टी (एमाले), एकीकृत नेकपा (माओवादी) र फोरम लोकतान्त्रिक बीच भएको सहमतिसंविधानसभाबाट संविधान जारी गरेर संघीयता, समानुपातिक समावेशिता, दिगो शान्ति र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैले संकल्प गरेका छौं । यसका लागि प्रमुख राजनीतिक दलहरुका बीच १६ बुँदे सहमति गर्दै राष्ट्रिय सहमतिका साथ अघि बढ्ने हाम्रो प्रतिबद्धता देशको आवश्यकता अनुरुप रहेकोमा अहिले पनि हामी स्पष्ट छौं । आफ्ना अधिकार संविधानमार्फत् संस्थागत गर्ने तथा देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र सामाजिक सद्भाव कायम राख्ने जनआकांक्षाको उच्च कदर गरी हामीले निम्नलिखित सहमति गरेका छौं ।१. नेपालको अन्तरिम संविधान अन्तर्गत अभ्यास गर्दै आएको समानुपातिक समावेशी सिद्धान्त बमोजिमको राजनीतिक तथा सार्वजनिक सेवामा सबै जनसमुदायको सहभागितामा कुनै अस्पष्टता नरहने गरी नेपालको संविधानमा संशोधन गर्दा आवश्यक व्यवस्थ ागर्ने ।२. तराई, मधेश, थारु समुदाय, हिमाल, पहाड लगायत देशका विभिन्न भागमा प्रदेशहरुको सीमांकनको सन्दर्भमा देखिएका समस्यालाई रुपमा लिँदै संविधान संशोधन गर्दा सहमतिको आधारमा समाधान गर्ने ।३. निर्वाचन क्षेत्र निर्धारणको सम्बन्धमा हाल कायम रहेका जिल्लाको भौगोलिक क्षेत्रमा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुने व्यवस्था गर्ने ।४. हालै तराई मधेश लगायत देशका विभिन्न स्थानमा आन्दोलनको क्रममा घाइते हुनेहरुको उपचारको व्यवस्था गर्नुका साथै राहत उपलब्ध नभएका मृतकका परिवारहरुलाई राहत उपलब्ध गराउने ।५. आन्दोलनका क्रममा बन्दी बनाइएका व्यक्तिहरुलाई रिहा गर्ने र यस क्रममा लगाइएका झुटा मुद्दाहरु खारेज गर्ने ।६. आन्दोलनका क्रममा क्षति पुगेका घर र व्यवसायको अध्ययन गरी उचित क्षतिपूर्ति दिने व्यवस्था गर्ने ।७. नयाँ सरकार गठनसँगै देशमा शान्ति सुरक्षाको व्यवस्था सामान्य तुल्याउँदै जनतालाई सुरक्षाको प्रत्याभूति दिने ।८. जनताका अधिकारलाई सुदृढ गर्न र राष्ट्रिय हित, एकता र सामाजिक सद्भावको संरक्षण र सम्बद्र्धनका लागि प्राप्त उपलब्धीहरुको रक्षा गर्दै सबै समस्याहरुको पारस्परिक समझदारी र वार्ताको माध्यमबाट समाधान मधेश तराई केन्द्रित राजनीतिक दलहरु तथा थारु र आदिवासी जनजाति समुदायलगायत सम्पूर्ण आन्दोलनरत् पक्षलाई हार्दिक आह्वान गर्दछौं ।केपी शर्मा ओलीपुष्पकमल दाहाल प्रचण्डविजयकुमार गच्छदारअध्यक्षअध्यक्षअध्यक्षनेकपा (एमाले)एकीकृत नेकपा माओवादीमधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)

मधेशी माेर्चाको समर्थन सुशीललाई, गच्छदारको समर्थन ओलीलाई-

image

आश्विन २४, २०७२- १६ बुँदे सहमतिको एक हस्ताक्षरकर्ता फोरम लोकतान्त्रिकले पनि प्रधानमन्त्री निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेका छन् ।नेकपा एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका बीच आज बिहान ८ बुँदे सहमति भएपछि लोकतान्त्रिकले ओलीलाई समर्थन गर्ने भएको हो । सम्झौतामा एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिक अध्यक्ष विजय कुमार गच्छदारले हस्ताक्षर गरेका छन् ।संविधान सभा बहिस्कार गरेको आन्दोलनरत मधेसी मोर्चाले भने सुशील कोइरालाको पक्षमा मतदान गर्ने जनाएको छ । मोर्चाको एक घटक तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले संसद् भवनमा संवाददाताहरुसँग बोल्दै आफूहरु सरकारमा नजाने पनि बताए ।