भागवण्डाका लागि प्रधानमन्त्रीलाई सत्ता साझेदार दलले नै धम्क्याउन थाले

image

काठमाडौं, कार्तिक २२ । प्रधानमन्त्री केपी ओलीलाई भागवण्डाका लागि सत्ता साझेदार दलहरुले नै धम्क्याउन थालेका छन् । सत्ता साझेदार दलहरुको घुर्कीका कारण प्रधानमन्त्री ओलीले अझै केही राज्यमन्त्री र सहायकमन्त्रीहरुको सपथ गराउन सकेका छैनन् ।
स्रोतका अनुसार राप्रपा नेपाललाई दुई राज्यमन्त्री र दुई सहायक मन्त्री दिइएपछि अन्य
दलहरुले पनि राज्यमन्त्री र सहायक मन्त्रीमा आफ्नो भागवण्डा माग गरेका छन् ।
एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, जनमोर्चा नेपाल लगायतका दलले पनि राज्यमन्त्री र सहायकमन्त्रीमा दाबी गर्न थालेपछि प्रधानमन्त्री ओलीले सरकारलाई पूर्णता दिन नसकेको बताइन्छ । सत्ता साझेदार सबै दललाई राज्य मन्त्री र सहायकमन्त्री दिने हो भने मन्त्रिपरिषदको आकार ठूलो हुने र थप आलोचना खेप्नुपर्ने चुनौति खडा भएपछि प्रधानमन्त्री संकटमा परेको बताइन्छ ।
राप्रपा नेपालले सुरु मै दुई मन्त्री, दुई राज्यमन्त्री र दुई सहायकमन्त्रीसहित आफू सरकारमा सहभागी हुने सर्त राखेका कारण ओलीले सो पार्टीका लागि राज्यमन्त्री र सहायकमन्त्रीमा समेत भाग छुट्याएका थिए ।
‘तर अहिले अन्य दलले पनि राज्यमन्त्री र सहायक मन्त्री माग गर्न थालेपछि घोषित राज्यमन्त्री–सहायक मन्त्रीलाई सपथ गराउन समेत समस्या भएको छ,’ बालुवाटार स्रोतले भन्यो ।
भागवण्डामा किचलो जारी रहेकै कारण भूमिसुधार मन्त्री रामकुमार सुब्बाले अझै पदबहाली गरेका छैनन् । तर मन्त्री सुब्बा निकट स्रोतले ईमेजखबर डट कमसँग भन्यो, ‘साइत नजुरेका कारण उहाँले पदबहाली नगर्नु भएको हो, सोमबार उहाँले पदबहाली गर्नुहुन्छ ।’
राप्रपा नेपालबाट कुन्ती शाही र विक्रम थापा राज्यमन्त्री तथा विराज विष्ट र दिनेश श्रेष्ठ सहायक मन्त्रीमा नियुक्त गर्ने भनिए पनि उनीहरु सरकारमा सामेल हुने साइत अझै जुर्न सकेको छैन ।
भागवण्डा मिलाउनकै लागि केही मन्त्रालय फुटाउने तयारी भइरहेको पनि स्रोतले जनाएको छ । स्रोतका अनुसार संघीय मामला तथा स्थानीय विकास मन्त्रालयलाई फुटाएर दुईवटा मन्त्रालय बनाउने तयारी भइरहेको छ ।

हाम्रो समाज वाट…….